Saturday, December 02, 2006

भैरवनाथ गणका दुई सय छैसठ्ठी दिन

This article is fully featured from kantipur National daily.
Written by:गणेश ढकाल
सन् २००३ मा पक्राउ गरी राजधानीको भैरवनाथगणमा बेपत्ता पारिएका वा हत्या गरिएका भनिएकाहरूको स्थिति पत्ता लगाउन सरकारले छानबिन आयोग गठन गर्‍यो । तर त्यसले वास्तविकतालाई पर धकेल्दै हत्या वा बेपत्तामा संलग्न सेनाको मनोबल उच्च बनाएको छ । संयोगले बाँच्न सफल अर्थात् घटनाका जीवित साक्षीहरूलाई अहिले पनि पंगु बनाउने काम नेपाल सरकारले गरिरहेको छ ।
म्ा लगायत अन्य तीन जनालाई २००३ डिसेम्बर ३ मा राजधानीको घट्टेकुलो हाइट घर नं ४४९/ ८१ बाट शाही सेनाका कर्नेल राजु बस्नेतको नेतृत्वमा अपहरण शैलीमा गिरफ्तार गरिएको थियो । अख्तियार प्रमुख सूर्यनाथ उपाध्यायको घर नजिकै राजभण्डारीको घरमा म बस्थेँ । मेरो स्थायी घर ओख्रे २, तेह्रथुम हो र म मैतीदेवी उच्च माध्यमिक विद्यालयमा पढाउँथ्ोँ र त्रिचन्द्र कलेजमा पढ्थेँ ।
त्यसदिन बेलुका ५.१५ बजे म लगायत शिक्षक साथी रमेशप्रसाद गुरागाईं, कृष्णराज केसी र निश्चल नकर्मीलाई मेरो कोठाबाट गिरफ्तार गरियो । शिक्षकद्वय मसँग परिचित व्यtmि हुन् भने निश्चल नकर्मीसँग पहिलोपटक चिनजान भएको थियो ।
आँखामा कालो पट्टी बाँधी पाता कसेर हामीलाई सेतो भ्यानमा लैजाँदा कमाण्डर राजु बस्नेतले निश्चललाई धम्की दिँदै थिए, 'तँलाई पक्रेर हामीले ठूलो विजय गर्‍यौं । हामी जे पनि गर्न सक्छौं, तर मार्दैनौं ।' भाग्यवश् म र अन्य दुई शिक्षक बाँच्यौं, तर निश्चलको अवस्था अझै अज्ञात छ ।
मानवअधिकार सम्बन्धी राष्ट्रसंघीय उच्च आयोग -ओएचसीएचआर) ले २६ मई २००६ को प्रतिवेदनमा समेत निश्चल लगायत ४९ जना भैरवनाथगणबाट बेपत्ता पारिएको उल्लेख गरेको थियो । म उक्त घटनाको जीवित साक्षीमध्ये एक हुँ । विषेश परिस्थितिवश घटनाबारे पहिलोपटक सञ्चारमाध्यममा प्रस्तुत हँुदैछु ।
मलाई लागेको थियो, जनआन्दोलनबाट बनेको सरकारले भैरवनाथका बेपत्ता बन्दी लगायत मोरङका कुवीर आपागाइर्ं, गोपाल दंगाल, तेह्रथुम ओख्रेका राजकुमार खड्का, भैरव पाहिम आदि लगायत देशैभरिका सयौं बेपत्ताको अवस्था सार्वजनिक गर्दै गणका अपराधीहरूलाई अदालतको कठघरामा ल्याउनेछ । तर सेनाको षडयन्त्रपूर्ण किर्ते प्रतिवेदनलाई वैधता दिइयो ।
बन्दी अवस्थाका २६० दिनसम्म मैले बाँचेर संसार हेर्ने आश गरेको थिइन । चौबीसै घन्टा आँखामा कालो पट्टी र घाँटीसम्म आउने कालो मखुण्डो, हात पछाडि टनक्क पारेर बाँध्ने, दुई गाँस बासी भात पनि सुविस्तासँग खान नदिने, लागेको बेला दिसापिसाब गर्न नदिने । शौचालय जाँदा-आउँदा चरम यातना दिने, अधिकांश रात प्रत्येक घन्टा १५-२० मिनेटसम्म उभ्याएर उपmन लगाउने, महिनौं दिनसम्म नुहाउन, दाँत मोल्न नदिने, अधिकांश बिहान नसक्दा पनि कडा व्यायाम गर्न लगाउने, एकले अर्कोलाई काँधमा बोक्न लगाउने, टाउको टेकेर खुट्टा ठाडो गर्न लगाउने र नसक्दा थप यातना पाउनुपर्ने, कथित अनुशासन पालन नगरेको आरोपमा अन्य यातना दिने, जाँडले टिल्ल अधिकृतद्वारा मध्यरातमा कुटिनुपर्ने, महिलाबन्दीहरूलाई आमाचकारी गाली गर्ने आदि थिए ।
अन्य यातनामा लुगा फुकालेर भुइँमा लडाएर दसौं प्लाष्टिकका मसिना पाइप शरीरमा बजार्ने, उठाउँदै बुटले हान्दै लडाउने, बरफ पानीमा डुबाउने, पिसाबको खाल्डोमा चोबल्ने, बिजुलीको झड्का लगाउने आदि हुन् । यी यातना सुरुमा अनिवार्य थिए भने पछि सेनाको मुडमा भर पर्ने कुरा थिए । गालीगलौजको त कुरै नगरांै ।
म, रमेश, कृष्ण सरलाई लगेको दिन कैयन यातनासहित भैरवनाथगणको ग्यारेजमा राखियो । उता निश्चललाई केही समय हामीसँगै नाजुक अवस्था हुँदासम्म यातना दिइयो । केही घन्टापछि उसलाई हामीबाट अलग्याइयो । प्ाछि माघ २२ मा हामी सबैलाई स्क्वास हलमा लैजाँदा थाहा भयो, निश्चललाई पनि स्क्वास हलमा अन्य बन्दीसँगै मंसिर १७ देखि नै सारिएको रहेछ । हलका बन्दी साथीहरूबाट अवगत भयो, पुस ५ सम्म निश्चल र अन्य ४७ जनालाई उक्त हल र अन्य पालबाट निकालेर ट्रकमा कोचेर बाहिर निकालिएको रहेछ ।
ग्यारेजमा लगेर कैयन बन्दीहरूसँग भुइँमा लडाइयो । खतरा मोलेरै भए पनि सँगै सुतेका तर एक महिनादेखि उक्त कालकोठरीमा अभ्यस्त भइसकेका तर हाम्रै हालतमा लडाइएकालाई मैले साउती मारेर सोधेँ, उनले भने- यहाँ ७ महिलासहित ३६ बन्दी छौं । नजिकैको स्क्वास हलमा लगभग ७० जना हुनुपर्छ । बाहिरको रोइकराइ अभ्यस्त भएपछि मसिनो गरी सुनिँदो रहेछ ।
रेवकला तिवारी, दुर्गा विशंखे, रेनुका दुलाल, कौशिल्या पोख्रेल, विना मगर, तारा भण्डारी र सरिता शर्मा महिला बन्दीका नाम थिए । ७ जनामध्ये पछिल्ला ३ जनासँग हामी पूरै समय सँगै बस्यौं भने पहिला ४ बन्दीसँग लगभग १५-२० दिनमात्र सँगै बस्यौं होला ।
मंसिर २९ गतेतिर हामी सबैलाई बाहिर निकालियो । २ महिनादेखि नुहाउन नपाएका बन्दीलाई चिसो पानी खन्याउने कार्यक्रम रहेछ । मलाई महिला बन्दी नजिक राखियो । रेवकला तिवारीले नाम भनेकी थिइन् । मलाई याद भयो, उनी हामीभन्दा १ महिना अघिदेखि बेपत्ता थिइन् । मैले आङ तन्काउने बहानामा आँखाको डाँडीबाट हेर्दा रेवकलाले क्रिम कलरको सुट-पाइन्ट भित्र उस्तै कलरको टिसर्ट लगाएकी रहिछन् । कौशिल्या र दुर्गाले कुर्ता-सुरुवाल लगाएका थिए । यसैक्रममा आँखा तन्काउँछस् भन्दै सेनाको जवानले मलाई नराम्रोसँग बुट बजार्‍यो ।
जावलाखेलका खड्गबहादुर घर्ती मगरलाई २ महिना पहिले ल्याएका रहेछन् । उनी अचेत हुने गर्थे । मंसिरको अन्तिमतिर झाडापखालाको औषधी नपाउँदा मध्यरातमा उनी अचेत भए । राति २ बजे कम्पाउन्डर आएर सलाइन पानी दियो । त्यतिखेरैदेखि उनी हिँडेर शौचालय जान सक्दैनथे । अन्य बन्दीहरूमा किरण राय उदयपुरतिरका हुनुपर्छ, उनी २८-३० वर्षका, अनुुहारमा खत भएका थिए । उनी सेनाबाट पिटाइ खाने डरले आँखा टम्म बाँध्ने गर्थे । उनको आँखा ऐँजरुले ढाकिसकेको थियो ।
मंसिर १८ गते पुष्पराज बस्नेतलाई कालिमाटीबाट पक्रेर बाहिर अनेकन यातना दिइसकेपछि बेलुका मसँग्ौ ग्यारेजमा लडाइयो । हामी साउती मार्न सफल भयौं । जगतमन्दिर उच्च मावि चावहिलमा अध्यापन गर्दा हामी राम्रैस्ाँग परिचित थियौं । कुराकानी गर्न सजिल्ाो भयो । उनको शरीर मुडोजस्तै सुन्निएको र कानबाट रगत बगेको थियो । हातका औंलाहरू चल्दैनथे । उनी नम्ा्र शब्दमा भन्थे, यतिका यातना दिनुभन्दा एक गोली खर्च गर । मंसिर १९ गते हीराबहादुर रोक्कालाई राति त्यसरी नै यातना दिएर मलाई राखिएको भुइँको अगाडितिर फोल्डिङ खाटमा राखियो । उनको अवस्था नाजुक थियो । उनको उमेर ३४ वर्ष र घर नुवाकोट भएको थाहा भयो । उनलाई सेनाले सचिव भन्ने गर्थे । मंसिर २० गते ग्यारेजमा हीराबहादुर सारु, सुनिन्द्र श्रेष्ठलाई ल्याइयो । सुनिन्द्रलाई पुष्प, हीरा रोक्काझैं अशक्त बनाइएको थियो । यी व्यक्तिलाई ४ देखि ६ दिनको बीचमा हामीबाट अलग गरियो । उनीहरूसहित अन्य ४७ जनालाई स्क्वास हलबाट पुस ५ गते ट्रकमा हालेर लगेको माघ २२ मा हामीलाई उक्त हलमा लैजाँदा साथीहरूबाट थाहा भयो । ग्यारेजका अन्य बन्दीहरू ज्ास्तै डीबी राउत, टीका कँडेल, कमल केसी, मच्छेनारायण श्रेष्ठ, रामचन्द्र महर्जन, कालु तामाङ, राजकुमार राई, राजकुमार बस्नेत, माधव न्यौपाने, लाहानु चौधरी, रामबहादुर बस्नेत आदि विभिन्न समयमा रिहा वा सार्वजनिक भएको अनुमान मैले गरेको छु । उता सँगै राखिएका ७ महिला बन्दीमध्ये ४ उल्लिखित महिला बन्दीसँगै उल्लिखित ४ पुरुष बन्दी पनि बेपत्ता छन् । त्यस्तै खड्ग र पद्मनारायण नकर्मीको शंकास्पद हत्या, किरण रायको हत्या आदिको बारेमा तल उल्लेख छ ।दिसा जाँदा र खाना खाने क्रममा मैले भीम गिरीलाई भेटेँ । त्यस्तै सीएमलाई पनि । मंसिर २९ वा ३० गते हुनुपर्छ, धीरेन्द्र बस्नेतलाई भेटेँ । त्यस्तै निश्चललाई पुनः एकपटक भेटेँ । उसले हालत ठीक छैन भन्यो । अरू कुरा गर्न मौका मिलेन । ज्ञानेन्द्र त्रिपाठी र दीपेन्द्र पन्तलाई बाहिरको पालमा राखिएको पछि बन्दीहरूबीच कुरा गर्दागर्दै पुष्टि भयो । त्यस्तै ओएचसीएचआरले उल्ल्ोख गरेकामध्ये अधिकांश बन्दीसँग त्यसरी नै भेट भयो । तर भैरवनाथमा बेपत्ताको संख्या कैयौं गुणा बढी भएका आधार बलिया छन् । गणका पूर्वबन्दीले देखेका घटना सम्भिmने र सबैले सार्वजनिक गर्ने हो भने कम्तीमा पनि त्यहाँ ३०० बढी बन्दी भएको पुष्टि हुन्छ ।
चार दिनपछि मलाई कृष्ण केसी र खड्गसँग कुरा गरेको आरोपमा यातना दिएर अर्काे कुनामा सारियो । त्यहाँ प्रदीप रम्तेल र १९ वषर्ीय ड्राइभर थिए । उनले माओवादीको नाम त्यहींमात्र थाहा पाएका रहेछन् । उनी लगायत ४ जनालाई माओवादीका नेतासँग नाम मिलेको कारणले र अर्का १९ वषर्ीय राईलाई वानेश्वरमा कर्नेल किरण बस्नेत मारिएको ठाउँ नजिकबाट पक्रेर ल्याइएको रहेछ । उनी वानेश्वरमा सानो होटलमा भाँडा माझ्ने गर्दारहेछन् । उनलाई पक्रेपछि कैयन् दिनसम्म यातना दिएर 'म माओवादी हुँ' भन्न लगाइएको रहेछ । छोडिदिन्ेा प्रलोभनमा उनले सीधा पाराले स्वीकारेछन् । त्यसपछि एकजना साथीलाई ल्या अनि घर जा भनेछन् । उसले त्यो कुरा पनि मानेछ । त्यसपछि राईले पालैपालो बीसजना चिनेका मान्छे ल्याएछन् ।
स्क्वास हलमा छँदा हामीलाई ३-४ पटक ट्रकमा कोचेर बंकरमा लगेर बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म्ा पानी पनि खान नदिइ राखियो । सेनाका जवानले कुरा गरेको सुनेर थाहा पायौं, आइसीआरस्ाीलाई हामी हटाइएको खाली हल देखाइएको र कुनै पनि बन्दी नभएको जानकारी दिएको भन्ने कुरा सत्य लाग्यो र प्रायः सोम र शुक्रबार लुकाइने, बसेको हल हामीलाई नै सफा गर्न लाउने सबै कपडा, बोरा हटाउने, बाहिर यातना दिन राखिएका बोर्ड, ड्रम उखेल्ने अनि कसैले नदेख्ने ठाउँमा राख्ने आदि कारणले त्यो कुराको सजिलै पुष्टि हुन्थ्यो । बंकरमा लैजाँदा अरू पालबाट ल्याइएका बन्दीलाई पनि हामीसँगै कोचेर राख्दा चिनजान भइहाल्थ्यो । त्यसरी चिनजान हुनेमा राष्ट्रबैंकका कृष्ण सिलवाल, अमीर गुरुङ, धादिङका शिक्षक आदि । बंकर गहिरो खोँचजस्तो ठाउँमा थियो, जहाँ वरिपरि काँडेतारमा बाक्लो पालको बार हुन्थ्यो र अनेकौं ठूला-साना पाल हुन्थे । नजिकैको पालमा मैले कम्तीमा पनि ४० जना महिला-पुरुषलाई शौचालयको प्वालबाट नियालेको थिएँ । प्ाुरुष बन्दीहरूको दार्‍ही हाम्रोभन्दा लामो थियो भने महिलाहरूको स्थिति नराम्रो थियो ।
खड्गबहादुरलाई अन्दाजी फागुन ३ गते नै अचेत अवस्थामा मध्यरात लगभग २ बजे हामी बीचबाट हटाइयो । भोलिपल्ट बिहानै हुनुपर्छ, हामीलाई बंकरमा लुकाइएको थियो । त्यहाँ पद्मनारायण अचेत थिए । उनले कैयौंपटक बान्ता गरेका थिए । खड्गसँगको बिछोड आलो छाड्दै पद्मलाई विदा गर्नुपर्ने अवस्था आयो । केही दिनपछि सेनाका जवान कानेखुसी गर्थे, २ आतंककारीलाई माथि पठाइयो । हामीले जे अनुमान गर्‍यौं, त्यही भयो । त्यसपछि हामीले पद्म र खड्गलाई कहिले पनि भेटेनौं ।
लगभग फागुनको अन्तिम सातादेखि सुन्निएर अशक्त हुनथालेका केही साथीहरूलाई छाउनीमा लैजाने र केही विसेकजस्तो भएपछि हामीसँग ल्याउने गरियो । अस्पताल लगिएकामध्ये रेशम विक, गोविन्द घिमिरे, राम खड्गी, अमीर शाक्य लगायत १५-२० जना थिए । बाँकी बन्दीको अवस्था पनि दयनीय थियो । तर ३-४ दिनसम्म खाना खान नसक्नेलाई मात्र अस्पताल लाने नीति बन्यो र हामीलाई निकै सुन्निँदा पनि अस्पताल लगिएन । छाउनी अस्पतालमा गएर आउने एक बन्दीले संयोगवश कान्तिपुरको दोस्रो पृष्ठमा -सायद) पढ्न पाएछन् । त्यहाँ फेला परेछ, सेनाको नक्कली विज्ञप्ति । लेखिएको रहेछ, 'खड्बहादुरको उपचार गर्दागर्दै असामयिक निधन' । त्यसमा थप लेखिएको रहेछ, खड्ग माओवादीको हतियार ओसारपसार गर्ने क्रममा पक्राउ परी सेनासँग आत्मसमर्पण गरेर सैनिक क्याम्पमा सुरक्षाको लागि बस्दै आएको । अर्थात् आफूखुसी बस्दै आएको वा घर जान नमानेको । -पाठकवृन्द ! ०६० फागुन ५ देखि १५ बीचको कान्तिपुरको दोस्रो पृष्ठ वा अन्य कुनामा विज्ञप्तिको पूर्ण पाठ हुनुपर्छ) हामीले त उनलाई भैरवनाथको हलमा नै लगभग विदा गरेका थियौं । कहिले पो उनी अस्पतालमा लगिएछन् । संयोगवश ती बन्दीले कान्तिपुरको टुक्रा ल्याएका रहेछन् । मैले पनि त्यो लज्जाजनक विज्ञप्ति पढेँ ।
स्मरणीय छ, स्क्वास हलका अन्तिम दिनहरूमा खड्ग र पद्मको हत्या वा मृत्युपछि सेनाले प्रायः हामी सबै जीवित बन्दीहरूलाई ज्यानको धम्की दिँदै एउटा नांगो नाच गर्‍यो । एउटा नक्कली कागजमा सहीछाप गर्न लगायो । त्यस कागजमा लेखिएको थियो, 'म माओवादी भएकोले सुरक्षाकर्मीको हिरासतमा अत्यन्तै आरामसहित मानवीय व्यवहार पाएको छु । मलाई केही दिनअघि पक्रिएको हो । मलाई यातना दिएको छैन..., मलाई यहाँ कुनै समस्या छैन..., म रिहा भए मलाई माओवादीले नै मार्नेछन् । ....तसर्थ आफ्नो सुरक्षाको लागि आफूखुसी परिवारसँगसमेत सम्पर्क नगरी आराम गरिबसेको छु । म उचित समयमा रिहा हुनेछु ।' यस्तै-यस्तै लेखिएको थियो । उक्त कागजमा मिति थिएन । बन्दुकको नाल कञ्चटमा राखेर लेख्न लगाइयो । लेख्न नजान्नेलाई अरूले लेखेको कागजमा सही गर्न लगाइयो । उक्त कागज त्यही दिन छुट्ने भनिएका निर्दोष प्रदीप रम्तेल, राजकुमारहरूलाई पनि औंठाछाप लगाउन बाध्य बनाइयो । उनीहरूले लेख्न नजाने पनि अरूले लेखेको कागजमा औंठाछाप लगाउन लगाइयो । मलाई शंका छ, खड्ग वा पद्मलाई पनि मृतक अवस्थामा नै त्यस्तै कागजमा औंठाछाप लगाए वा उनीहरूलाई त्यो गर्न बिर्सेर हामीलाई त्यो कागज गराए ।
स्क्वास हलमा मानवअधिकारकर्मीबाट जोगाउनुपर्ने झञ्झटबाट सधैंका लागि मुक्त हुन सेनाले चैत ४ देखि ७ गते बीचमा हामीलाई उच्च सतर्कयुक्त ठाउँमा लग्यो । च्ौत ३ मा त्यस गणको वार्ष्र्िकी पर्दोरहेछ । मैले भैरवनाथको स्थापना लेखिएको गेट केही दिनअघि बंकरमा लुकाउन लैजाने क्रममा बाटोमा देखेको थिएँ । च्ौत ३ मा विशाल नाचगानसहित पार्टी गरिएको थियो । हामीचाहिँ हलमै थियौं । तर दिनभरि भोकै थियौं । त्यसै दिन राति मेजर विवेक विष्टको नेतृत्वमा आएको टोलीबाट प्रायः सबैले बुट खायौं । त्यसदिन बुट र पाइपबाहेक केही पनि खाइएन ।
उच्च सतर्कताको लागि लगिएका बन्दीको संख्या जम्मा २९ थियो । त्यहाँ ४ वटा पालमा ल्याइयो । अन्यलाई छोडियो वा के गरियो, मलाई यकिन छैन । हामीहरू ३ शिक्षक कृष्ण, हिमाल, वीरेन्द्र, ३ महिला बन्दी, किरण, विजय मगर, रेशम, विजय भट्टराई, गोविन्द, देव गुरुङ आदि थियौं । नयाँ बन्दी वा अन्य पालबाट त्यहाँ ल्याएका थिए । तीमध्ये ६ जनालाई माओवादीको नाममा सही गर्न लगाइएको रहेछ । उनीहरू ०६१ जेठमा छुटेको हुनुपर्छ । त्यस्तै नारायणध्वज महतसहित ४ जनाको समूह थियो । पुसमा गिरफ्तार गरी उक्त गणमा राखिएका पत्रकार जितमान बस्नेत, केही समय बंकरमा भेट भएका अमिर गुरुङ ।
मानबहादुर श्रेष्ठ, धनबहादुर मगर, माधव न्यौपाने आदिलाई असारमा छोडियो । असारमा जन्डिस भएका केही साथीलाई छुट्टै पालमा राखियो । छाउनी अस्पतालबाट फर्काइएका केहीलाई हामीस्ाँग सञ्चार हुन नसकोस् भनेर छुट्टै पालमा राखियो । कृष्ण केसी, हिमालसहित ४ जनालाई बाहिरको पालमा राखियो । बन्दीको अवस्थामा थप कडाइपन ल्याइयो । राति उठाउने, उपmन लगाउने, हत्कडी, पट्टी टनक्क कस्ने आदिमा थप कडाइका साथ सशक्त पारियो । हामीमा बाँच्ने आशा कम हुन थाल्यो । सेनाले पिसाब गर्न प्रयोग गरेर छाडेको चौरको टेन्टमा राखिएकोले लामखुट्टेले थप समस्या थप्यो । प्ाालमा पानी चुहिने र भुइँबाट चिसो पस्ने भएकोले समस्या पर्‍यो ।
साउन १ गते म लगायत १२ जना बन्दीलाई नुहाइ-धुहाइ गरेर एउटा हलमा लगियो । हामीले सोच्यौं, अब अर्काे नाटक मञ्चन हुने भयो । मेजरले भन्यो, 'तिमीहरूलाई भेट्न कोही आउँदैछ । सबै राम्रो छ भन्न्ाु । कुनै गुनासो गर्‍यौ भने बेलुका पहिलेका दिन दोहोरिन्छन् । २ घन्टासम्म हाम्रा पट्टी, हत्कडी खोलिए । भेट्न कोही आएन । बेलुका हत्कडी, पट्टीसहित पुनः पहिलेकै ठाउँमा फर्कायो । सेना त्यसदिन पनि ढाँट्न सफल भयो ।
मलाई रिहा हुने दिन बिहान अचानक मेरो कैदी नम्बर ९६ बोलाइयो र तानेर नजिकैको एक्लो पालमा राखियो । मेजर विवेक विष्टले पालमा भेट्यो । उसले पालेलाई मेरो पट्टी खोल्न आदेश दियो । म्ौले मेजरलाई देखेँ । उनी मैले कल्पना गरेजस्तो राक्षसै त रहेनछन् । सामान्य म्ाान्छे लाग्यो । सायद उनले मेरो सातो पहिले नै टिपिसकेका रहेछन् । उसले आफूलाई चिनेको वा नचिनेको सोध्ोे । मैले भने बोली सुनेको बताएँ । उसले कसरी भन्यो । पालमा कहिलेकाहीं आउनुहुन्थ्यो, मैले भनेँ । उसले सोध्यो, 'माडसापलाई कसैले नराम्रो गर्‍यो कि ?' मैले ठीक भएको बहाना गरेँ । उसले भन्यो, 'मैले तपाईंलाई विशेष ध्यान दिन भनेको थिएँ ।' मैले त्यस्तै हो, हिरासतमा भनेँ । उसले सही थप्दै भन्यो, 'माडसाप, कसैको निधारमा माओवादी लेखेको हुँदैन, सोधपुछ गर्नैपर्‍यो । तपाईं घानमा पर्नुभयो । माइन्ड नगर्नुहोस् ।' मैले भनेँ, माइन्ड गर्ने कुरै छैन । यदि म निर्दाेष भएको प्रमाणित भएकै हो भने रिहा गरिदिनुहोस् । उनले भने, 'मैले तपाईंको रिहाइको लागि विशेष पहल गर्दैछु, तर तपाईं यदि छुट्नुभयो भने हामीलाई के सहयोग गर्नुहुन्छ ?' मैले भनेँ, छुटेर उपचार गर्छु । सके भने पढाउँछु, पढ्छु, सकिन भने घरमा बस्छु । उसले भन्यो, 'छुटेपछि तपाईँल्ो माओवादीको सुराकी दिनुपर्छ ।'
मैले भनेँ, सरी, म सक्दिन । उसले अलि कडा स्वरमा भन्यो, 'त्यसो भए म तपाईंलाई रिहा गर्न सक्दिन ।' मैले भनेँ, निर्दाेष पनि भन्ने, नछोड्ने पनि के हो ? अलि नरम भएर उनले भन्ो, 'कोही माओवादी भेट्न आए, म एउटा नम्बर दिन्छु, त्यसमा फोन गर्नु ।' उसले चिया खाने प्रस्ताव गर्‍यो । मैले आफूलाई चिया मन नपर्ने बहाना गरेँ । चियाको स्वाद बिर्सेको झन्डै एक वर्ष भएको थियो । त्यसपछि उसले दोस्रो प्रस्ताव राख्यो, 'यदि छुट्नुभयो भने पत्रकार, मानवअधिकारवादीलाई नभेट्ने । भेटेमा आफ्नो सुरक्षा आफैं गर्नुहोला ।' उसले भन्यो, 'म तपाईंको शुभचिन्तक भएकोले मात्र यो कुरा भनिरहेको छु ।' उनले थप सोध्ो, 'तपाईंलाई कहाँ राखिएको छ, केही थाहा छ ?' मैलै बहाना गर्दै भनेँ, काठमाडौंंभित्र छु, तर कहाँ भन्ने पत्तो छैन । अर्काे एक जटिल प्रस्ताप राख्यो, सँगै पक्रेको निश्चल नकर्मीबारे केही बोले सुरक्षा निकायले पुनः पक्रेर फेरि जीवन दिन सक्दैनन् । उनले भने, 'नेपाल सानो छ । चाहेमा एक घन्टामा तपाईंलाई पक्रिन सकिनेछ ।' मैले भनेँ, मलाई थाहा छ । त्यसपछि मेजर गए । पट्टी पुनः बाँधियो ।
एकछिनपछि अर्काे सेनाको अधिकृतजस्तो लाग्ने व्यक्ति आएर टाउको धकेल्दै धम्कीपूर्ण स्वरमा भन्यो, 'मास्टर छुटेँ भन्ने नसम्झी । एक मिनेटमा यहाँ ल्याउने तागत छ । यहाँको बारेमा एक शब्द बाहिर भनिस् भने सम्झी तेरो ज्यान छैन ।' बिहान १० बजे खाना लिएर भान्से आयो । सधैं बाघजस्तो व्यवहार गर्ने त्यो भान्सेले निन्याउरो मुख लाउँदै भन्यो, 'माडसाप, माइन्ड नगर्नुहोस् । हामीले नचाहँदा-नचाहँदै पनि नराम्रो गर्नैपर्‍यो ।' मैले भनेँ, तपाईंले अह्राएको गर्नुभयो । केही माइन्ड छैन । मैले थप भनेँ, यदि तपाईं सक्नुहुन्छ भने भित्रका बन्दीमाथि थोरै भए पनि मानवता देखाउनुहोस् । उसले हुन्छ भन्यो । दिउसो २ बजेतिर आफ्ना सामान बुझेको सही गर्न लगाइयो । बेलुका ७ बजे गाडीमा जान भनेर १०० मिटरजति हिँडायो । फेरि आज जान पाइनस् भन्दै फर्काइयो । म निराश भएँ । यो सबै नाटकजस्तो लग्यो । पुनः आधा घन्टापछि लगियो र गाडीमा राखियो । पट्टी यथावत् थियो । गाडीमा घोप्टो पारेर सिटमा राखियो । कैयन घुम्ती बाटो गरिकन घुमाएर वानेश्वरस्थित एकजना नातेदारकोमा छोडियो । मेरो शारीरिक अवस्था ५० मिटर पनि हिँड्न नसक्ने भएको थियो । तौल ५८ केजीबाट घटेर ४४ केजी भएको थियो । प्रकाश देख्न नपाएका आँखाले कान्तिपुर पत्रिका पढ्न सकेनन् । हात अघिल्तिर लगेर सुत्न सकिन, हात त पछाडि नै अभ्यस्त भएछन् ।
सेनाले तारिकमा कोही पनि नलिई एक्लै आउनु भनेर धम्की दिएको थियो । मलाई छोडेकै भोलिपल्ट गणेशस्थान, कमलादीको मन्दिरमा बोलाइयो । त्यहाँ आफन्तहरूको विशेष निगरानीको व्यवस्था मिलाएको थिएँ ताकि सेनाले पनि थाहा पाउन नसकोस् । मलाई पुनः बेपत्ता पार्‍यो भन्ने प्रमाण बन्न्ा सकोस् । त्यसपछि नागपोखरी, टिचिङ हस्पिटल आदि ठाउँ गरेर एक वर्षमा ३६ पटकसम्म तारिक दिइयो । तारिकमा सेना प्रहरी केही नभनी सिभिलमा आउने, तोकेका ठाउँमा भेट्न जानुपर्ने, प्रत्येक पटक गोप्य कुरा भने मार्ने धम्की दिने, गाडीमा चड् भनेर डर देखाउने, माओवादी देखा भन्न्ो, घाममा राखेर अनावश्यक कुराहरू सोध्ने जस्ता अपमानजनक काम भए । यसरी सेनाका ब्यारेकका २६० दिन र त्यसपछिको एक वर्ष अत्यन्तै तनावबीच बिते ।

No comments: