Thursday, October 18, 2007

गैरआवासीय नेपालीहरुको सम्मेलन सम्पन्न

नेपालमा दिगो शान्ति र लगानीका लागि उपयुक्त वातावरण बनाउन सार्वजनिक आव्हान गर्दै विश्वभर छरिएर रहेका गैर आवासीय नेपालीहरुको तेस्रो विश्व सम्मेलन बुधबार काठमाण्डूमा सम्पन्न भएको छ। from http://www.bbc.co.uk/nepali

सम्मेलनका एनआरएन भनेर चिनिने गैर आवासीय नेपाली सहभागीहरुले एनआरएनहरुलाई नेपाली नागरिकता दिने सरकारी आश्वासनको स्वागत गरेका छन्।

सम्मेलन उपेन्द्र महतोको अध्यक्षतामा एउटा नयाँ समितिको चयन गर्दै १५ बुँदे घोषणा जारी गरेर टुङ्गिएको छ।

अधिकांश सहभागीहरुले प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालादेखि माओवादी नेताहरुसम्मले आफुहरुसंग भेटेर अन्तर्क्रिया गर्नुले एनआरएनहरुको मनोबल र आत्मविश्वाश बढाएको बताए।

आदानप्रदान

गैरआवासीय नेपाली संघका महासचिव भीम उदासले भने, "पहिलो पटक हामीसंग प्रधानमन्त्रीलगायत अन्य नेताहरुले भेट गरेर विचारहरुको आदानप्रदान भएको छ। यसले हाम्रो हौसला बढाएको छ।"

संघका अनुसार विश्वका ५५ देशमा २० लाख भन्दा बढी गैरआवासीय नेपालीहरु छरिएर रहेका छन्।

सम्मेलनमा भाग लिन ४० भन्दा बढी देशका ४०० भन्दा बढी सहभागीहरु नेपाल आएका थिए।

उनीहरु मध्ये एक थिए कतारको राजधानी दोहामा १४ बर्ष अघि रोजगारीका लागि गएका गोरखा जिल्ला घर भएका बद्रि प्रसाद पाण्डे।

अहिले उनले दोहामा एउटा ठूलो निर्माण कम्पनी चलाइरहेको बताए।

कतारका एनआरएन प्रतिनिधि समेत रहेका पाण्डेले नेपालमा अझसम्म पनि लगानीको लागि उपयुक्त वातावरण बन्न नसकेको भन्दै चिन्ता व्यक्त गरे।

उनले भने, "अझ पनि नेपालमा एनआरएनहरुको लगानीका लागि सहायक कानुन र नीति नियम बनीसकेको छैन। फेरि शान्ति सुरक्षाको समस्या पनि छ। हामीले अहिलेसम्म उचित वातावरण बन्न सकेको देखिराख्या छैनौं।"

विश्लेषकहरुका अनुसार यसपालीको एनआरएन सम्मेलनका सहभागीहरु पहिलेको तुलनामा बढी व्यवहारिक देखिएका छन्।

गैरआवासीय मामिला हेरीरहेका एकजना पत्रकार किरण नेपालले भने, "यसपाली मैले धेरै सहभागीहरु धरातलीय यथार्थलाई बुझ्दै काम गर्न उत्साहित रहेको पाएँ।"

सम्मेलनले वैदेशिक रोजगारमा गएकाहरु र विदेशमा पढीरहेका विद्यार्थीहरुलाई समेत एनआरएनको दर्जा दिंदै सुविधाहरु दिनु पर्नेमा जोड दिएको थियो।

विदेशमा काम गर्ने नेपालीहरुले आफ्नो कमाइ स्वदेशमा पठाउनाले अर्थतन्त्रमा ठूलो सघाउ पुगेको अधिकारीहरु बताउंछन्।

हाल झन्डै असी देखि सय अर्ब रुपियां बराबरको रेमिटान्स वर्षेनी नेपाल भित्रिने गरेको अनुमान गरिएको छ।