Tuesday, April 18, 2006

राजाबाट पूर्व प्रम भट्टराई र थापासंग भेट

राजाको प्रत्यक्ष शासन विरोधी आन्दोलन चर्कीँदै जाँदा श्री ५ ज्ञानेन्द्रबाट सोमवार दुईजना नेताहरुसंग भेट गरीबक्सेको छ।

त्यसरी भेट गर्नेहरुमा भूतपूर्व प्रधानमन्त्रीद्वय कृष्णप्रसाद भट्टराई तथा सुर्यबहादुर थापा हुनुहुन्छ।
मौसुफबाट आइतवार मन्त्री परिषद्का उपाध्यक्षद्वय डाक्टर तुलसी गिरी तथा किर्तिनिधि विष्टसंग संयुक्तरुपमा भेट गरीबक्सको थियो।
आइतवार नै श्री ५ बाट संयुक्त राज्य अमेरीका, भारत तथा चिनका काठमाडौंस्थित राजदूतहरुलाई पनि भेट बक्सेको थियो।
आइतवार भएका भेटघाटहरुका सम्वन्धमा कुनै जानकारी प्रकाशमा आएको छैन।
तर भारतस्थित नेपाली मामिलाका एकजना विज्ञ जनरल अशोक मेहताले बीबीसी नेपाली सेवासंग कुरा गर्दै हालैका दिनहरुमा भारतले पहिले, पहिले झै नेपालका लागि संवैधानिक राजतन्त्र र बहूदलीय प्रजातन्त्र दुबै अपरिहार्य छ भनेर जोड दिन छाडेको बताउनु भयो।
सोमवार राजासंग भेट गर्नुहुने श्री भट्टराईले राजाले आफूलाई सहयोग गर्न अनुरोध गरीबक्सेको तर आफूले २०४७ सालको संविधान अनुरुप प्रजातन्त्र पुर्नस्थापना नभएसम्म सहयोग गर्न नसक्ने स्पष्ट पारेको बताउनुभयो।
श्री थापाले भने भेटपछि पत्रकारहरुसंग भएको संक्षीप्त कुराकानीमा देशको अहिलेको परिस्थितिबारे गम्भिर छलफल भएको मात्र उल्लेख गर्नुभयो।
श्री ५ बाट नयाँ वर्षको अवसरमा बक्स भएको सन्देशमा संवादमाथि दिइएको जोड र त्यसपछि चर्कीएको आन्दोलनको परिप्रेक्ष्यमा वर्तमान भेटहरु भैरहेको ठानिएको छ।
बीबीसीका काठमाडौं संवाददाता सुशील शर्माका अनुसार राजाबाट आउंदा दिनहरुमा अन्य भूतपूर्व प्रधानमन्त्रीहरूसंग पनि भेट गरीबक्सने संभावना छ।
तर नेपाली कांग्रेसका एकजना नेतालाई उद्धृत गर्दै हाम्रा संवाददाता भन्छन्, वर्तमान आन्दोलनको नेतृत्व गरीरहनुभएका दुई प्रमूख नेताहरु भूतपूर्व प्रधानमन्त्रीद्वय गिरीजाप्रसाद कोइराला र शेरबहादुर देउवा भने राजाबाट सार्वजनिकरुपमा राजकीय सत्ता जनतामा हस्तान्तरण भएको घोषणा नभएसम्म राजासंग भेटगर्ने पक्षमा हुनुहुन्न।

No comments: