Saturday, January 28, 2006

भोजपुर भिडन्तमा कम्तिमा १५ जनाको मृत्यु


पूर्वी पहाडी जिल्ला भोजपुरको घोडेटार हथुवागढी भन्ने ठाउंमा माओवादी
विद्रोही र सुरक्षाफौज बीच शुक्रवार राती भएको भिडन्तमा दुवैतर्फ गरी कम्तिमा
१५ जनाको मृत्यु भएको छ।

पांच घण्टा लामो भिडन्त पछि विद्रोहीहरु आक्रमण छोडी भागेका थिए

शुक्रवार सांझ संयुक्त सुरक्षाफौजको क्याम्पमा आक्रमण गर्न आएका विद्रोही
मध्ये १३ जनाको लाश घटनास्थलबाट फेला परेको छ।

विद्रोहीसंग प्रतिकार गर्दा सुरक्षाफौजतर्फ दुई जनाको मृत्यु हुनुका साथै सात
जना घाइते भएको सुरक्षा श्रोतले बताएको छ।

भिडन्त शुरु भएको अढाइ घण्टामैं नाइट भिजन हेलिकप्टर घटनास्थल पुगेर कारवाही
शुरु गरेको थियो।

सयौंको संख्यामा आएका विद्रोहीहरुलाई झण्डै २००को संख्यामा रहेका
सुरक्षाकर्मीले प्रतिकार गरेका थिए।

पांच घण्टा लामो भिडन्त पछि विद्रोहीहरु आक्रमण छोडी भागेका थिए र
सुरक्षाफौजले हेलिकप्टरबाट वमबारी गरेका थिए।

सुरक्षाफौजले विद्रोहीहरु बाट केही अत्याधुनिक हतियार समेत फेला पारेको
बताइएको छ।

भिडन्तका क्रममा एकले अर्कोतर्फ बढी क्षति भएको दाबी गरे पनि स्पष्ट संख्या
थाहा पाउन सकिएको छैन।

भोजपुर सदरमुकामदेखि झण्डै १० माइल टाढा पर्ने घोडेटारको हथुवागढी वरपरका
क्षेत्रमा शुक्रवार रातीदेखि नैं सुरक्षाफौजले शुरु गरेको हवाई गस्ती र
वमबारी, विद्रोहीहरुलाई निशाना बनाएर दिन भरी नैं चलेको थियो।

सो वमबारीबाट विद्रोही र सर्वसाधारणतर्फ भएको क्षतिबारे कुनै आधिकारीक
तथ्याङ्क प्राप्त भएको छैन।

तीन महिना अघि मात्र घोडेटारको हथुवागढीमा सुरक्षाफौजको क्याम्प स्थापना भएको
थियो।

विद्रोहीहरुको आक्रमण पछि पूर्वी नेपालमा रहेका सुरक्षा निकायहरुको शनिवारको
बैठकले विद्रोहीहरु प्रति अरु सशक्त कारवाही संचालन गर्ने निर्णय सहित पहाडी
क्षेत्रमा थप मदत र बन्दोबस्तीका सामानहरु पठाएको बताइएको छ।

source: BBC

No comments: