Thursday, August 16, 2007

कांग्रेस, माओवादी विद्यार्थीबीचको विवाद बढ्दो

सत्ताधारी नेपाली कांग्रेस र नेकपा माओवादी निकट विद्यार्थी संगठनहरुबीचको विवाद सुल्झिनुको साटो झन् बल्झिदै गएको छ।

विवाद बढ्दै जाँदा उनीहरूले एकअर्का माथि आक्रमण र प्रत्याक्रमण गर्न थालेका छन्।

माओवादी समर्थित अनेरास्ववियु क्रान्तिकारीले आफ्नो केन्द्रिय कार्यालयमा नेपाली कांग्रेस निकट नेविसंघले मंगलवार आक्रमण गरेको भन्दै बुधवार काठमाडौ उपत्यकामा तीन घण्टे चक्काजामको आयोजना गरेको थियो।

त्यसक्रममा प्रहरी र प्रदर्शनकारीवीच ठाउँ, ठाउँमा झडप भएका थिए।

अखिल क्रान्तिकारीका अनुसार उसका ९५ कार्यकर्ता गिरफ्तार भएका छन् र ३८ जना घाइते भएका छन्।

नेकपा एमालेले आफ्ना सांसद सोमप्रसाद पाण्डे र उनको गाड‌ीमाथि प्रदर्शनकारीले आक्रमण गर्नुका साथै आगो लगाउने प्रयास गरेको भन्दै त्यसको विरोध गरेको छ।

काठमाण्डू थापाथलीस्थित इन्जिनियरिङ क्याम्पसमा आफ्ना कार्यकर्तामाथि माओवादी समर्थित क्रान्तिकारीका कार्यकर्ताले सोमवार सांघातिक हमला गरेको भन्दै नेविसंघले मंगलवार देशव्यापी शैक्षिक संस्था बन्द गरेको थियो।

वार्ताका सर्त

अन्य विद्यार्थी संगठनहरुद्वारा दुवै पक्षलाई वार्ताद्वारा सहमति कायम गर्न दबाब परिरहे पनि त्यस्तो वातावरण बनेको छैन।

नेविसंघका अध्यक्ष प्रदीप पौडेलले आफुहरु विरुद्ध माओवादी युवा संगठन, योंग कम्युनिष्ट लिगका कार्यकर्ताको प्रयोग गरिएकाले यो विषय माओवादी नेतृत्वसँग गाँसिएको बताउँदै भने, "हामीले धेरै सह्यौ। अब भने सुध्रिन्छौ/गर्दैनौ भनेर हुँदैन्। व्यवहारमा देखिनुपर्छ।"

अखिल क्रान्तिकारीका महासचिव हिमाल शर्माले चाहीं नेविसंघले माफी नमागेसम्म र गिरफ्तार कार्यकर्ता विना सर्त रिहा नहुँदासम्म सम्वादको थालनी हुन नसक्ने बताए।

अन्यथा भदौ १ गतेदेखि देशव्यापी रुपमा अनिश्चितकालीन शैक्षिक हडताल गर्ने उनले जनाए।

नेविसंघले भने बिहीवार विरोधसभा गरि आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने बताएको छ।

त्यसो त बिद्यार्थी संगठनहरुबीच यस अघि पनि झडप, आक्रमण-प्रत्याक्रमण वा हमला नभएका होइनन्।

तिनलाई सामान्य घटनाका रुपमा लिइन्थ्यो।

बीबीसीका काठमाण्डू सम्वाददाता भन्छन्, तर संक्रमणकालीन राजनीतिक स्थिति र देश राजनीतिक ध्रुविकरणको डिलमा उभिएकाले पनि सत्ताधारी वामपन्थी र गैरवामपन्थी दुई दल समर्थित विद्यार्थी संगठनबीच बढ्दो शत्रुतालाई धेरैले चासोका साथ हेरिरहेका छन्।
 
From: bbcnepali.com

No comments: